अफ्रिका कप अफ नेशन्समा मोरक्कोको शानदार जित
माघ ४, काठमाडौं । अफ्रिका कप अफ नेशन्समा मोरक्कोले शानदार जित निकालेको छ। बुधबार भएको खेलमा मोरक्कोले तान्जेनियालाई ३–० गोल अन्तरले पराजित गर्दै समूह एफमा स्पष्ट ३ अंक बनाएको छ।
खेलको ३० औं मिनेटमा रोमेन साइसले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। ७० औं मिनेटमा तान्जानिया १० खेलाडीमा समेटिएको थियो। नोभास्टास डिसमस दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए।
पहिलो हाफमा १ गोल गरेको मोरक्कोले दोस्रो हाफमा २ गोल थपेको थियो। ७७ औं मिनेटमा एजिदिन ओनाहीले गोल गरेपछि अग्रता दोब्बर बनेको थियो। ८० औं मिनेटमा युसुफ एन नेसिरीले गोल गरेपछि मोरक्कोले ३–० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो।
यही समूहमा रहेका जाम्बिया र कंगोले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। जाम्बिायका लागि किंग्स कांगवाले गोल गर्दै २३ औं मिनेटमा अग्रता दिलाएका थिए। तर, २७ औं मिनेटमा कंगोले गोल फर्काउँदै खेल बराबरी गरेको थियो। कंगोका लागि योएन वेएसाले बरबरी गोल गरे।
समूह एफमा मोरक्को ३ अंकसहित शीर्ष स्थानमा रहँदा कंगो र जाम्बिाय एक एक अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा छ। तान्जानिया भने अंक बिहीन अवस्थामा छ।