अफ्रिका कप अफ नेशन्समा गुएना र नाइजेरिया विजयी
माघ ५, काठमाडौं । अफ्रिका कप अफ नेशन्समा गुएना र नाइजेरिया विजयी भएका छन्। समूह ‘ए’बाट दुवै टिमले जित निकाल्दै तालिकामा चार चार अंक बनाएपछि अन्तिम १६ प्रवेशको सम्भावनालाई पनि बलियो बनाएका छन्। गुएना शीर्ष र नाइजेरिया दोस्रो स्थानमा छ।
गुएनाले गिनीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो। गुएनाको जितमा इमिलियो नासुले ह्याट्रिक गर्दा जोस एन्टोनियो मिरान्डाले एक गोल थपेका थिए।
२१ औं मिनेटमा इमिलियोले गोल गर्दै गुएनलाई अग्रता दिलाए। ३७ औं मिनेटमा गुएनाकै एस्टेबन ओवियाङले आफ्नै पोस्टमा गोल गरेपछि गिनीले पहिलो हाफमै बराबरी गरेको थियो। तर, दोस्रो हाफको सुरुमा जोस एन्टोनियोले गोल गरेपछि गुएनाले अग्रता २–१ को बनायो।
५१ औं र ६१ औं मिनेटमा लगातार गोल गर्दै गुएनाका इमिलियोले ह्याट्रिक पूरा गरेपछि गुएना ४–१ को सहज अवस्थामा पुगेको थियो। दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा गिनीका लागि जोस कोरेराले गोल फर्काएर अन्तर ४–२ मा झारे पनि हार टार्न भने पर्याप्त भएन।
यस्तै,समूह ए मै रहेको नाइजेरियाले आइभरी कोस्टलाई १–० गोल अन्तरले पराजित गरेको छ। ५५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै नाइजेरियाले अग्रता लिएको थियो। नाइजेरियाका विलियम इकोङले पेनाल्टीमा गरेको एकमात्र गोल नै नाइजेरियालाई जित दिलाउन पर्याप्त भयो। उता, समूह बीमा इजिप्टले दोस्रो बराबरी खेलेको छ। इजिप्टले घानासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
स्टार खेलाडी मोहमद सलाहको इजिप्टले दुई पटक पछि परेको अवस्थामा बराबरी गर्दै अंक लिन सफल भयो। पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा घानाका मोहमद कुडुसले गोल गर्दै अग्रता दिलाएका थिए। ६९ औं मिनेटमा ओमर मारमोसले बराबरी गर्दै इजिप्टलाई खेलमा फर्काए। ७१ औं मिनेटमा घानाका लागि कुडुसले व्यक्तिगत दोस्रो गोल गर्दा टिम २–१ ले अघि बढेको थियो।
७४ औं मिनेटमा मोस्तफा मोहमदले गोल गरेपछि इजिप्टले २–२ को बराबरी गर्दै महत्वपूर्ण एक अंक लिन सफल भयो।