जिम्बाबेविरुद्धको सिरिज श्रीलंकालाई
माघ ५, काठमाडौं । जिम्बाबेविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलंकाले जितेको छ। बिहीवार राति कोलम्बोमा भएको खेलमा श्रीलंकाले जिम्बाबेलाई ९ विकेटले पराजित गर्दै सिरिज २–१ ले जित्न पनि सफल भएको हो।
टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली जिम्बाबे १४.१ ओभरमा सवै विकेट गुमाएर ८२ रनमा समेटिएको थियो। जिम्बाबेलाई सस्तैमा समेट्न वानेन्दू हसरंगाले सर्वाधिक ४ विकेट लिए।
उनले ४ ओभरमा १५ रन खर्चिएका थिए। यसैगरी महेश तिक्ष्णा र एंगेलो म्याथ्युजले दुई दुई विकेट लिँदा दिलसान मधुसनका र धनञ्जय डी सिल्भाले एक एक विकेट लिए।
जिम्बाबेका ब्रेन बेनेटले सर्वाधिक २९ रन बनाउँद्या सिन विलियम्सले १५ रन बनाए। यस्तै, तिनेश कामुनुकम्बेले १२ रन बनाएका थिए। कप्तान सिकन्दर राजाले १० रन बनाउँदा अरुको प्रदर्शन विर्सन लायक रह्यो।
८३ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको श्रीलंकाले १ विकेट गुमाएर १०.५ ओभरमा पूरा गरेको थियो। श्रीलंकाका पथुम निसनकाले ३९ रनको नटआउट पारि खेल्दा उनलाई धनञ्जय डी सिल्भाले १५ रन बनाएर साथ दिए। कुशल मेन्डिस भने ३३ रन बनाएर पभेलियन फर्किएका थिए।
जिम्बाबेका सिन विलियम्सले एक विकेट लिए।