हिजबुल्लाहको इजरायललाई कडा चेतावनी
माघ ६, एजेन्सी । इजरायल र हमासबीच चलिरहेको युद्धलाई लिएर हिजबुल्लाहले इजरायललाई कडा चेतावनी दिएको छ। लेबनानको इरान समर्थित आतंकवादी समूहका एक शीर्ष अधिकारीले युद्ध लेबनानको सीमासम्म फैलियो भने इजरायलले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन्।
हिजबुल्लाहका नइम कासिमले इजरायलले द्वन्द्व बढाउने निर्णय गरेमा त्यसको उचित जवाफ र मुखमा वास्तविक थप्पड दिने चेतावनी दिएका छन्। इजरायली वायुसेनाले इजरायल–लेबनान सीमा नजिकैको गाउँ केफर किलामा चार घरहरूलाई निशाना बनाएको छ।
केफरका मेयर हसन चिटेले संयोगवश इजरायली वायुसेनाको आक्रमणमा ध्वस्त भएका घरमा कोही नभएको बताए। शुक्रबार हिजबुल्लाहले तीनवटा आक्रमणको दाबी गरेको थियो, जसमा धेरै घरहरू ध्वस्त भएको भनिएको थियो। बुधबार इजरायली सेना प्रमुख हार्जी हालेवीले इजरायल र हिजबुल्लाहबीचको तनाव आगामी महिनाहरूमा बढ्न सक्ने बताएका थिए।
गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले आक्रमण गर्दा इजरायल र हिजबुल्लाहको सीमामा भारी गोलीबारी भएको थियो। रिपोर्टका अनुसार इजरायलसँग जोडिएका सीमावर्ती गाउँहरूमा पनि बमबारी गरिएको थियो। लेबनानमा भएको हिंसामा कम्तिमा १ सय ४२ हिज्बुल्लाह आतंककारीसहित १९५ जनाभन्दा बढीले ज्यान गुमाएका छन्।