युक्रेनी सैनिकहरूलाई मुसाको चुनौती
माघ ८, एजेन्सी । रूसविरुद्ध युद्ध गर्दै आएका युक्रेनका सैनिकहरूलाई मुसाको चुनौती पनि थपिएको छ।
युद्धको अवस्था र प्रतिकूल चिसो मौसममा मुसाले सैनिकमा गम्भीर रोग फैलाउने र सैन्य कारबाहीमा पनि बाधा पुयाउने गरेको र यो अवस्थाले प्रथम विश्वयुद्धको सम्झना दिलाउने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रथम विश्वयुद्धको दौरानमा पनि मुसाहरूले सैनिकहरूलाई गम्भीर तनाव दिएका थिए। युक्रेनी सेनामा कार्यरत एक महिला सिपाही किराले मुसाहरू आराम गर्न खोज्ने सैनिकहरूको लुगामा पस्छन् र उनीहरूको औंलाहरू टोक्ने गरेको बताइन्।
युक्रेनी र रूसी सैनिकहरूद्वारा इन्टरनेट मिडियामा सार्वजनिक गरिएको भिडियोहरूले मुसाहरू ओछ्यानमुनि, ब्याकप्याक, विद्युतीय जेनेरेटर, कोटको खल्ती र तकियामा भेटिएको देखिएको छ।