अयोध्यास्थित मन्दिरमा राम लल्लाको मूर्ति अनावरण
माघ ८, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्री राम जन्मभूमि मन्दिरमा राम लल्लाको मूर्ति अनावरण गरिएको छ।
मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गरेका थिए। गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो।
राम लल्लाको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आइएएफ) का हेलिकप्टरहरूले अयोध्यामा श्री राम जन्मभूमि मन्दिर परिसरमा फूलको वर्षा गरेका थिए। समारोह आयोजना भएकामा भक्त तथा अतिथिहरूले ‘जय श्री राम’ को नारा लगाएका थिए।
समारोहमा राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित थिए। भव्य मन्दिरमा समारोहका लागि आठ हजारभन्दा धेरै अतिथिलाई आमन्त्रण गरिएको थियो।
ऐतिहासिक प्राण प्रतिष्ठा समारोहमा मुलुकका सबै प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधिले भाग लिएका छन्। समारोहमा विभिन्न आदिवासी समुदायका प्रतिनिधिसहित सबै क्षेत्रका मानिस पनि सहभागी भएका छन्।
श्री राम जन्मभूमिको निर्माण परम्परागत नगारा शैलीमा गरिएको हो। यसको लम्बाइ (पूर्व–पश्चिम) तीन सय ८० फिट, चौडाइ दुई सय ५० फिट र उचाइ एक सय ६१ फिट रहेको छ। समग्रमा मन्दिरमा कूल तीन सय ९२ स्तम्भ र ४४ ढोका छन्।
मन्दिरको स्तम्भ र पर्खालहरूमा हिन्दू देवी–देवताका साथै देवीहरूका जटिल मूर्तिकला प्रदर्शित छन्। भुइँतलामा रहेको मुख्य गर्भगृहमा भगवान् श्री रामको बाल्यकालको स्वरूप (श्री राम लल्लाको मूर्ति) राखिएको छ।
मन्दिरको मुख्य प्रवेशद्वार पूर्वी दिशामा रहेको छ। त्यहाँ सिंहद्वार हुँदै ३२ सिँढी चढेर पुग्न सकिन्छ। मन्दिरमा कूल पाँच मण्डप (हल) नृत्य मण्डप, रङ्ग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप छन् । मन्दिर नजिकै ऐतिहासिक इनार (सीता कूप) छ। यो इनार प्राचीनकालको हो।
मन्दिर परिसरको दक्षिणपश्चिमी भागमा रहेको कुबेर टिलामा भगवान् शिवको प्राचीन मन्दिरको जीर्णोद्धार गरिएको छ भने जटायुको एउटा मूर्ति पनि स्थापना गरिएको छ।
मन्दिरको जगलाई कृत्रिम रूप दिने गरी रोलर–कम्प्याक्ट कङ्क्रिकट (आरसिसी) को १४ मिटर बाक्लो तहले निर्माण गरिएको छ। मन्दिरमा कतै पनि फलामको प्रयोग गरिएको छैन। जमिनको चिसोबाट बचाउनका लागि ग्रेनाइटको प्रयोग गरेर २१ फिट अग्लो स्तम्भमुनि चौकी निर्माण गरिएको छ।
मन्दिर परिसरमा एउटा ढल प्रशोधन संयन्त्र, पानी प्रशोधन संयन्त्र, अग्नि सुरक्षाका लागि पानीको आपूर्ति र एउटा स्वतन्त्र पावर स्टेसन राखिएको छ। मुलुकको परम्परागत र स्वदेशी प्रविधि प्रयोग गरी मन्दिर निर्माण गरिएको हो।