इजरायल र हमास युद्धबारे आईसीजेको फैसला भोली
माघ ११, एजेन्सी । इजरायल र हमास युद्धबारे अन्तर्राष्ट्रिय अदालतले शुक्रबार फैसला सुनाउने भएको छ। दक्षिण अफ्रिकाले इजरायललाई गाजामा नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेको थियो।
दक्षिण अफ्रिकाले जतिसक्दो चाँडो इजरायली सैन्य कारबाही बन्द गर्न अदालतबाट आदेश दिनु पर्ने माग गरेको छ।अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले बुधबार एक विज्ञप्ति जारी गर्दैै शुक्रबार दिउँसो १ बजे हेगको शान्ति दरबारमा सार्वजनिक सुनुवाई हुने जनाएको छ । यस अवधिमा, न्यायाधीश जोन ई. डोनोघुएले अदालतको निर्णय सुनाउने छन्।
यसअघि सुनुवाइका क्रममा अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिकाकी वकिल एडेला हसिमले विगत १३ हप्तादेखिको प्रमाण अदालतमा प्रस्तुत गरिएको बताएकी थिइन्। सुनुवाइका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भिडियोमार्फत आफ्नो बयान दिएका थिए।
अन्तर्राष्ट्रिय न्यायालय दुई देशबीच चलिरहेको विवाद समाधान गर्ने ठाउँ हो । अदालत युरोपेली देश हेगमा अवस्थित छ। आइसीजे संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत मानिन्छ। तर, यो अदालतको निर्णय मान्नुपर्छ भन्ने छैन।
धेरै पटक देशहरूले अदालतको निर्णयलाई बेवास्ता गरेका छन्। अदालतले रुसलाई युक्रेनमा भइरहेको सैन्य कारबाही तत्काल बन्द गर्न आदेश पनि दिएको थियो। तर, रुसले त्यसो गरेन र युक्रेनमा अहिले पनि आक्रमण जारी छ।