राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’


माघ ११, काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन्। मधेशमा खालि दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन्।

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका छन्। एमालेका तर्फबाट उषादेवी थरुनी र विजेता झा उम्मेदवार थिइन्। जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो।

राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको शतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए। लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन्। मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?