कहाँ छिन् वैजयन्ती माला ?
माघ १२, मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री वैजयन्ती माला बाली ती १ सय ३२ व्यक्तिमा पर्छिन्, जो पद्मा पुरस्कार २०२४ बाट सम्मानितको सूचीमा छिन्। यो पुरस्कार प्राप्त गर्ने सूचीमा वैजयन्तीका नाम परेपछि अहिले सबैको चासो वैजयन्ती कहाँ छिन ? भन्नेमा छ।
वैजयन्तीले आफ्नो अभिनयको सुरुवात सन् १९४९ मा रिलिज तमिल फिल्म ‘वाजकई’बाट गरेकी थिइन् । त्यो समय उनको उमेर केवल १६ वर्षको मात्र थियो। त्यसपछि उनले सन् १९५१ मा ‘बहार’ फिल्मबाट हिन्दी फिल्ममा पाइला चालिन् । हिन्दी फिल्ममा उनको आगमनपछि वैजयन्तीले कहिल्यै पछाडि फर्केर हेरिनन्।
उनले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिइन्। यतिमात्र होइन, उनले आफ्नो अभिनयबाट हिन्दी फिल्मलाई एक नयाँ उचाई नै दिइन्। उनको अन्तिम फिल्म सन् १९७० मा रिलिज ‘गँवार’ थियो।
वैजयन्ती अभिनेत्रीमात्र थिइनन्, उनी प्रतिभाशाली नर्तकी पनि थिइन्। ‘मन डोले मेरा मन डोले’, ‘मैं का करुँ राम मुझे बुढ्ढा मिल गया’, ‘होठों पे ऐसी बात’ र ‘उडे जब जब जुल्फें तेरी’ जस्ता कैयौं गीतमा उनले शानदार नृत्य गरेकी थिइन्।
वैजयन्तीले फिल्म क्षेत्र छोडेको ५० वर्ष बढी भइसकेको छ। फिल्म ‘गँवार’ पछि फिल्मबाट टाढिँदा उनको उमेर केवल ३७ वर्षको मात्र थियो। दुई दशकको फिल्मी करियर उनका सही सफल साबित भयो। उनको भूमिकालाई अहिले पनि दर्शकले उत्तिकै सम्झन्छन्।
वैजयन्तीले राजनीतिलाई पनि करियर बनाएकी थिइन्। उनले तमिलनाडुबाट चुनाव लडेर लोकसभा सदस्य बनेकी थिइन्। उनी सन् १९९३ मा राज्यसभाका लागि निर्वाचित भइन्। उनले सन् १९९९ मा काँग्रेसको सदस्यता त्यागिन्। त्यसपछि भारतीय जनता पार्टीको सदस्यता लिएकी थिइन्।
अहिले वैजयन्ती ९० वर्ष पुगिन्। उनी हाल चेन्नईमा परिवारका साथ बसिरहेकी छन्। उनी नयाँ पिढीलाई नृत्यको शिक्षा दिइरहेकी छन्।