एनआरटीलाई इलाम गोल्डकपको उपाधि
माघ १३, विराटनगर । न्युरोड टिम (एनआरटी) ले इलाममा जारी इलाम गोल्डकपको उपाधि हात पारेको छ। आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ४–३ गोलन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । त्यस क्रममा एनआरटीका सुुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरे । एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाए।
बिर्तामोड युनाइटेडका हिसुब थपलिया आजको खेलको म्यान अफ् दि म्याच घोषित भए। आजको फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए। एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरफाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो। बिर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टरफाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो।
विजेता टिम एनआरटीले पाँच लाख रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेता बिर्तामोड युनाइटेडले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ। प्रतियोगिताको उत्कृष्ट गोलकिपरका रुपमा एनआरटीका प्रिसो पुरस्कृत भए। उत्कृष्ट मिडफिल्डरका रुपमा बिर्तामोड युनाइटेडका योगेश गुरुङ, उत्कृष्ट बेस्ट फरवर्डमा एनआरटीका राजीव लोप्चन र उत्कृष्ट प्रशिक्षकमा एनआरटीका हरिहोम श्रेष्ठ पुरस्कृत भए।
यसैगरी, राइजिङ प्लेयरका रुपमा इलामका गोलरक्षक विवेक मगर, सर्वाधिक गोलकर्तामा इलामकै नवयुक श्रेष्ठ (४ गोल) ले पुरस्कार पाए। प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीका रुपमा बिर्तामोड युनाइटेडका रोहन कार्कीले पुरस्कार प्राप्त गरे।
इलामको रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो। प्रतियोगितामा दार्जिलिङको एउटा टिमसहित आठवटा टिमको सहभागिता थियो।