एनसेलको सेयर खरिदबिक्री छानबिन समितिले बुझायो प्रतिवेदन
माघ १५, काठमाडौं । आजियाटा कम्पनीलेएनसेलको ८० प्रतिशत सेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
डेढ महिना लगाएर तयार पारेको प्रतिवेदन समितिले सोमबार प्रधानमन्त्री दाहाललाई बुझाएको हो । गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
मलेसियन टेलिकम कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर नेपाली मूलका बेलायती नागरिक सतीशलाल आचार्यको नाममा दर्ता रहेको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको थियो ।
खरिद बिक्रीमा अनियमितता भएको भन्दै अनुसन्धान गर्न सरकारमाथि चौतर्फी दबाब आएको थियो । खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो ।