आइभरीकोस्ट र काबो भर्डे अफ्रिका कपको अन्तिम ८ मा


माघ १६, काठमाडौं । अफ्रिका कप अफ नेशन्समा आइभरी कोस्ट र काबो भर्डेले अन्तिम ८ मा स्थान पक्का गरेका छन्। आइभरी कोस्टले सेनेगलाई पेनाल्टी सूटआउटमा पराजित गर्दा कार्बो भर्डेल मौरिटेनियालाई १–० गोल अन्तरले स्तब्ध बनाएको थियो।

सोमबार राति भएको खेलमा कार्बो भर्डेले पेनाल्टीमार्फत अन्तिम समयमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो। ८८ औं मिनेटमा रेयन मेन्डेसले गोल गर्दै कार्बो भर्डेलाई क्वाटरफाइनलमा प्रवेश गराए।

यस्तै, अर्को खेलमा पेनाल्टी सूटआउटमा स्तब्ध बन्दा सेनेगल प्रतियोगिताबाट बाहिर भएको छ। निर्धारित र अतिरिक्त गरेर एक एक गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टी सूटआउटमा आइभरीकोस्ट ५–४ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा प्रवेश गर्न सफल भयो।

निर्धारित समयमा भने सुरुआतमै सेनेगलले अग्रता लिएको थियो । चौथो मिनेटमा साडियो मानेको पासमा मुहम्मद हबिब डिलाहले गोल गरेका थिए। ८६ औं मिनेटमा भारले चेक गर्दै आइभरी कोस्टले पेनाल्टी पाउनु नै खेलको टर्निङ प्वाइन्ट बन्यो।

आइभरकी कोस्टका फ्रान्क यानिक केसीइले पेनाल्टीमा सहजै गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए। त्यसपछि अतिरिक्त ३० मिनेटको समयमा पनि गोल नभएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो।

५–४ गोल अन्तरले आइभरी कोस्ट विजयी हुँदा सेनेगलका मौसा नियाखतको प्रहार मिस भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?