प्रधानमन्त्री कप : एपीएफको चौथो जित, सुदूरपश्चिम ३ विकेटले पराजित


माघ १६, काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफले चौथो जित निकालेको छ। एपीएफले समूह चरणको सातौं खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमको भने यो तेस्रो हार हो । एपीएफ र सुदूरपश्चिम समान ८ अंकका साथ तालिकाको पाँचौं र छैटौं स्थानमा छन्।

मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश १६।२ ओभरमा सवै विकेट गुमाएर ८७ रनमा समेटिएको थियो। सुदूरका लागि नारायण जोशीले सर्वाधिक ३१ रनको नटआउट पारि खेल्दा खडक बोहोराले २४ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भए । एपीएफका चन्दन रामले ५ विकेट लिँदा भुवन कार्कीले ३ विकेट हात पारे । यसैगरी रोहित पौडेलले २ विकेट लिएका थिए।

तर, ८८ रनको लक्ष्य पछ्याएको एपीएफले जित निकाल्नै कडा मेहनत गर्नु परेको थियो। लगातार विकेट पतन भएका बेला सन्दीप जोराले एपीएफालई जित दिलाए। जोराले सर्वाधिक १८ रनको नटआउट पारि खेल्दा आशिफ शेखले १५ रन बनाएका थिए। यसैगरी भुवन कार्कीले १४ रन बनाउँदा प्रदीप ऐरी १२ रन बनाएर पभेलियन फर्किए।

सुदूरका दिपक चन्दले सर्वाधिक ४ विकेट लिँदा नरेन साउदले ३ विकेट निकाले ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?