म्यानचेस्टर सिटीको सहज जित


माघ १८, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी भएको छ। बुधबार राति भएको खेलमा सिटीले बर्नलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। घरलु इथिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जिताउन जुलियन अल्भारेजले २ गोल गर्दा रोड्रीले १ गोल थपेका थिए। अमेन अल दखिलले बर्नलेका लागि १ गोल फर्काए।

१६ औं मिनेटमा म्याथेस नुनेजको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनै अल्भारेजले केभिन डी ब्रुएनाको पासमा २२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा २ गोलको अग्रता लिएको सिटीले दोस्रो हाफको सुरुमै (४६औ मिनेट) मा तेस्रो गोल गरेको थियो।

रोड्रीले व्यक्तिगत पहिलो गोल गर्दा सिटी ३–० को सहज अवस्थामा अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा अमेन अल दखिलले डेभिड फोफानाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार भने टरेन।

जितसँगै सिटी ४६ अंकका साथ दोस्रो स्थानमा छ भने बर्नले पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनको खतरामा परेको छ। प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। जितसँगै टोटनह्याम चौथो स्थानमा उक्लदा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?