विश्व विद्यालय उपकुलपति नियुक्तिमा भागभन्डा अन्त्य गरौं : गगन थापा


माघ २०, वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्व विद्यालयको उपकुलपति नियुक्तिमा भागभन्डाको अन्त्य गर्नुपर्ने बताएका छन्।

शनिबार वीरगन्जबाट प्रकाशित अंकुश दैनिकको रजत बर्ष समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको र विद्यार्थी विदेश पलायन हुनेक्रम बढेकाले योग्य र सक्षम उपकुलपति छनोट गर्नुपर्ने औंल्याएका हुन्।

‘विश्वविद्यालय भत्काउने कि सुधार गर्ने भन्ने जिम्मा हाम्रो हातमा छ। विश्व विद्यालयमा विद्यार्थीहरुको संख्या र विश्वसनीयता घट्दो छ। विदेश पलायन बढ्दो छ। रोजगारी वा अध्ययनका सिलसिलामा युवाहरु विदेश गइरहेका छन्। विश्व विद्यालय विग्रियो भनेर नै धेरैले देश छाडेका छन्। यस्तो अवस्थामा उपकुलपति नियुक्तिमा भागबण्डा खोज्नु हुँदैन्।’

यतिबेला नेपाली कांग्रेस संसदमा, सरकारमा वा स्थानीय सरकार रहेकाले सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने थापाले बताए। पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरुले वा जो व्यक्ति जे मा आबद्ध हुनुहुन्छ त्यसमै काम गर्न सुझाव दिए। उनले नेपाली कांग्रेसको हालको देश दौडाहपछि काठमाडौंमा बसेर समीक्षा गर्ने, सूची तयार गर्ने र योजनाहरु अघि सारिने बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?