एमाले धादिङको अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँचियो


माघ २१, काठमाडौँ । नेकपा एमाले धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले आइतबार विज्ञप्ति जारी गरी धादिङ अधिवेशन स्थगित भएको जानकारी गराएका हुन्।

अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित भएको विज्ञप्तिमा उल्लेख छ।

यही माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक अध्यक्ष मण्डल, विभिन्न समितिमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिको विषयमा विवाद बढ्दा हात हालाहाल भएको थियो। यसै क्रममा भिडन्त हुँदा पार्टी कार्यकर्ता सन्तोष खनालले हात भाँचिएको थियो।

विज्ञप्तिमा भनिएको छ ‘बैठकमा सहभागीहरुको असहमतिका बाबजुद जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति सिर्जना भएको छ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?