श्रीमती र छोराको हत्या आरोपमा प्रहरी जवान पक्राउ
माघ २१, काठमाडौँ । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन्।
साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएर आएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफै प्रहरी कार्यालय पुगेका हुन्।
प्रहरीसामु पिमलालले श्रीमतीले अनावश्यक दबाब दिएका कारण हत्या गरेको दाबी गरेका छन्। आइतबार बिहान ७ बजे हत्या गरेको भन्दै ८ बजे उनी प्रहरी कार्यालय पुगेको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।
शनिवार राति कार्यालयबाट बिदा मागेर नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेको खुलेको छ।
श्रीमतीले जागिर भएको ठाउँमा बसेर घरमा बेवास्ता गरेको भन्दै पटक पटक भनेको र सहन नसकेर हत्या गरेको दाबी उनले प्रहरीसमक्ष गरेका छन्।आइतबार बिहान यो विषयमा विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनले प्रहरीलाई बताएका छन्।