देउवाले दिए विभिन्न आठओटा उपसमितिको संयोजकलाई जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुनमा हुने महासमितिको बैठक तयारी गर्न मूल समितिका विभिन्न उपसमिति संयोजकहरू चयन गरेको छ।
आगामी फागुन ७ गतेदेखि सुरु हुने कांग्रेस महासमिति बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले ८ वटा उपसमितिको संयोजक चयन गरी आइतबार जिम्मेवारी दिएका छन्।
जसअनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शमशेर राणा र यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा चयन भएका छन्। साथै स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर) चयन भएका छन्।
महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउने कुरामा सभापति देउवाले विश्वास व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ।