मार्बल टेलिभिजन सिरिज ‘वन्डर म्यान’ को सेटमा दुर्घटना, एकको मृत्यु
माघ २४, क्यालिफोर्निया । छायाङ्कनरत मार्बल टेलिभिजन सिरिजको ‘वन्डर म्यान’ सेटमा एक टिम सदस्यको दुर्घटनामा परी मृत्यु भएको छ। ती व्यक्तिको सेटमा रहेको अग्लो छानाबाट खसेर मृत्यु भएको हो।
यो घटना लसएन्जल्समा रहेको राडफोर्ड स्टुडियो सेन्टरमा भएको हो, जुन समयमा सिरिजको छायाङ्कन भएको थिएन। ती व्यक्ति सिरिजका लागि तयार पारिएको घरको बरण्डामा काम गरिरहेका थिए । दुर्घटनामा घाइते भएका उनको केही समय पछि मृत्यु भएको हो।
‘द अकुपेसनल सेफ्टी एण्ड हेल्थ एडमिनिस्ट्रेसन (ओएसएचए)ले के कारण दुर्घटना भएका हो भनेर अनुसन्धान गरेको छ। हाम्रो गहिरो समवेदना उनको परिवार र साथीहरुलाई छ, हाम्रो समर्थन यो दुर्घटनापछि गरिएको अनुसन्धानलाई छ’, मार्बलका प्रवक्ताले जारी गरेको विज्ञप्तीमा भनिएको छ। मार्बलले मृतकको नाम खुलाएको छैन।
याह्या अब्बल–मतिन द्वितिय र बेन किङ्सलेको अभिनय रहने ‘वन्डर म्यान’को छायांकन हालैको हलिउड हड्तालले रोकिएपछि ढिलाई भएका थियो। यसको छायाङ्कन आगामी मार्चबाट पुनः सुरु गर्ने तयारी भइरहेको थियो।
डिस्ने प्लसको सिरिज सिमोन विलियम्समा केन्द्रीत छ, जो अलौकिक शक्तिहरुले उपहार पाएपछि सुपरहिरोहरुको संसारमा सामेल हुन्छन्। फिल्म र टेलिभिजन सेटमा मृत्यु र गम्भीर घाइते अपेक्षाकृत दुर्लभ मानिन्छ। हालैका वर्षहरुमा धेरै उच्च–प्रोफाइल घटनाहरु बढ्दै गएका छन्।
सन् २०२१ मा फिल्म ‘रस्ट’को सेटमा बन्दुक चल्दा ४२ वर्षीया हलिना हचिन्सको मृत्यु भएको थियो। यो घटनामा निर्देशक जोएल सुजा घाइते भएका थिए।
गत वर्ष मोरोक्कोमा फिल्म ‘ग्लाडिएटर’को सिक्वेलको छायाङ्कन भइरहँदा स्टन्ट सिक्वेन्स गलत भएपछि सेटमा धेरै जना घाइते भएका थिए। सन् २०१८ मा टेलिभिजन सिरिज ‘पावर’को सेटमा कारको ठक्करबाट एक प्रोडक्सन सहायकको निधन भएको थियो।