पाँच लाख घूससहित पक्राउ परेका जीतपुरसिमरा–३ का वडाध्यक्षविरुद्ध मुद्दा
माघ २५, काठमाडौं । घरबाटो सिफारिस गरिदिने भन्दै ५ लाख रुपैयाँ घूस लिएको अवस्थामा पक्राउ परेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले कार्कीलाई गत पुस पहिलो साता जीतपुरस्थित जैसवाल होटलबाट नियन्त्रणमा लिएको थियो। टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याइएका उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो ५ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालत आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।