पहिचानवादी र कोशी प्रदेश सरकारबीच वार्ताको तयारी
माघ २५, विराटनगर । कोशी प्रदेश सरकार र पहिचानवादी प्रतिनिधिबीच वार्ता गर्ने तयारी गरिएको छ। पहिचानसहित प्रदेशको पुनःनामकरण गर्न माग गर्दै आन्दोलरत संयुक्त संघर्ष समिति तयार भएपछि वार्ता हुने भएको हो।
केही समयअघि कोशी प्रदेश सरकारले वार्ताका पत्र पठाएको थियो। उक्त पत्रको जवाफमा समितिले कुनै प्रतिक्रिया दिएको थिएन। समितिले बुधबार सरकारसँग वार्ता गर्ने निर्णय लिएपछि अब वार्ता हुने निश्चित भएको हो।
संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमका अनुसार समितिले सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ। बिहीबार वा शुक्रबार वार्तामा बस्ने तयारी भएको उनले बताएका छन्।
कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो। टोलीमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिवको रुपमा छन्।
संघर्ष समितिका तर्फबाट भने वार्ताका लागि औपचारिक टोलीबारे जानकारी दिइएको छैन।
कोशी प्रदेशसभाले गत वर्ष फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो। उक्त नाम पहिचानयुक्त नभएको भन्दै पहिचानको आधारमा नामकरण गर्न माग पहिचानवादीले गरेका थिए।
प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित उनीहरुले आन्दोलन गर्दै आएका छन्। आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबीच पटक पटक झडप भएका थिए। त्यस क्रममा आन्दोलनकारीमध्ये एकजनाको मृत्यु पनि भएको थियो।