बाफ्टा अवार्ड २०२४ : ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड


फागुन ७, लण्डन। क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘ओपनहाइमर’ले ‘बाफ्टा अवार्ड २०२४’ ले ‘बेस्ट फिल्म’सहित सर्वाधिक ७ विधामा अवार्ड जितेको छ।

लण्डनमा सोमबार बिहान सम्पन्न अवार्डमा ‘ओपनहाइमर’का लागि निर्देशक क्रिस्टोफर नोलनले ‘बेस्ट डिरेक्टर’को अवार्ड जित्दा अभिनेता सिलियन मर्फेले ‘बेस्ट एक्टर’को अवार्ड जिते।

उनले फिल्ममा जे रोबर्ट ओपनहाइमरको भूमिका अभिनय गरेका छन्। ओपनहाइमर आणविक बमका पिता हुन्। त्यस्तै फिल्मका लागि अभिनेता रोबर्ट डोनी जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर्स’को अवार्ड जित्दा फिल्मले ‘ओरिजिनल स्कोर’, ‘सिनेमाटोग्राफी’ र ‘बेस्ट एडिटिङ’ विधाको अवार्ड पनि सुरक्षित गर्यो।

अवार्डमा फिल्म ‘पुअर थिङ्स’ले पाँच विधामा अवार्ड सुरक्षित गर्यो। फिल्मका लागि अभिनेत्री एमा स्टोनले ‘बेस्ट एक्ट्रिस’ अवार्ड जित्दा फिल्म ‘मेकअप हेयर’, ‘कस्ट्युम डिजाइन’, ‘प्रोडक्सन डिजाइन’, ‘स्पेसल भिजुअल इफेक्ट्स’मा अब्बल बन्यो।

अवार्डमा ‘द होल्डओभर्स’का लागि डा’भिन जोय रान्डोल्फले ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’को अवार्डमा चित्त बुझाइन्। ‘ओपनहाइमर’को सफलताले ‘ओस्कार अवार्ड’को नयाँ संस्करण आउन तीन साता मात्र समय बाँकी रहँदा ‘ओपनहाइमर’ र विजेताहरुले अहिलेकै सफलतालाई दोहोर्‍याउन सक्छन् त भन्ने कुरामा ओस्कार र बाफ्टाका भोटरहरु वीरलै सहमत छन्।

सोमबार बिहान भएको ‘बाफ्टा अवार्ड २०२४’ मा ‘सरप्राइज’ रुपमा उपस्थित भएका माइकल जे फक्सले ‘ओपनहाइमर’लाई ‘बेस्ट फिल्म’को रुपमा घोषणा गरेका थिए। ३० वर्षभन्दा बढी समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित ६२ वर्षे माइकल स्टेजमा उपस्थित हुँदा दर्शकले उभिएर स्वागत र सम्मान गरेका थिए।

‘ओपनहाइमर’ अभिनेता मर्फेले उनको करियरमा पहिलो पटक ‘बाफ्टा’ अवार्ड जितेका हुन्। ‘ओ केटा। होली मोली। धेरै धेरै धन्यवाद, धेरै धेरै बाफ्टा।’ अवार्ड लिँदै आइरिस अभिनेता मर्फेले ‘ओपनहाइमर’लाई श्रद्धाञ्जली दिँदै निर्देशक नोलेनको प्रशंसा गरे।

ब्रिटिस निर्देशक नोलेनका लािग पनि ‘बाफ्टा’को विजय पहिलोपटक हो। सन् १९९३ मा फिल्म ‘चाप्लिन’बाट ‘बाफ्टा’ जितेका डोरीले ३१ वर्षपछि दोस्रोपटक ‘बाफ्टा’ जित्ने अवसर पाएका हुन्। यो जितसँगै उनले सबैभन्दा लामो अन्तरमा अवार्ड जित्ने रेकर्ड पनि कायम गरेका छन्। ‘ओपनहाइमर’मा डोरीले ओपनहाइमरको विरोधी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन्।

अवार्डमा ‘द जोन अफ इन्ट्रेस्ट’ले ३ र ‘द होल्डओभर्स’ले २ विधामा अवार्ड जितेका थिए। अवार्डमा जापानी एनिमेटेड फिल्म ‘द ब्वाइ एण्ड द हिरोन’का लागि हायाओ मियाजाकले ‘बेस्ट एनिमेटेड फिल्म’को अवार्ड जिते। यो अवार्ड जित्ने ‘द ब्वाई एड द हिरोन’ पहिलो जापानी फिल्म बनेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?