कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन
फागुन १०, काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदैछ। ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका थिए भने बुधबार ती प्रस्तावहरूमाथि महासमिति सदस्यहरूले धारणा राखेका छन्।
अब बिहीबार प्रदेश सभापतिहरूले समूहगत छलफलमा उठेका सुझावहरूलाई संकलन गरेर सुझाव पेश गर्ने तयारी छ। प्रदेश सभापतिहरूले धारणा राखिसकेपछि दिउँसो २ बजेबाट समापन कार्यक्रम हुने सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।
बैठकमा उपसभापति पूणर्बहादुर खड्काले पार्टीको भावी नीति र रणनीति, महामन्त्री गगनकुमार थापाले संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पार्टीको लेखा प्रतिवेदन पेश गरेका थिए।
बुधबार भएको समूहगत छलफलमा गोदावरी हलमा ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले धारणा राखेका थिए भने अधिकांश जिल्ला सभापतिहरूले पनि बोलेका थिए।
बैठकले पेश भएका प्रस्तावहरूमाथि धारणा तय गर्दै समापन हुनेछ।