रूपान्तरण अभियानअन्तर्गत माओवादीले तीन जनालाई सम्मान गर्ने
फागुन ११, काठमाडौं । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत उत्कृष्ट काम गर्ने प्रत्येक प्रदेशका तीन जनालाई सम्मान गर्ने भएको छ।
पार्टीको बिहीबार भएको स्थायी कमिटी बैठकले अभियानबारे सातै प्रदेशको रिपोर्टिङपछि नेताहरुलाई कामका आधारमा सम्मान र कारबाही गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
‘पहिलो पटक हाम्रो पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ। अभियानमा सबैभन्दा राम्ररी खट्ने, राम्रै खट्ने, खट्ने तर काम नगर्ने, नखट्ने गरी चार क्याटेगरीमा छुट्याएका छौं। उत्कृष्ट काम गर्नेलाई सम्मान तथा काम नगर्ने नेतालाई कारबाही गर्ने निर्णय भएको छ ।कारबाहीको प्रक्रिया चेतावनी, निलम्बनलगायत हुनेछन्,’ उनले भने।
अभियानले पार्टीलाई चलायमान बनाएको निष्कर्ष निकाल्दै अब तीनवटा अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए। कारबाहीको प्रक्रिया भने केन्द्र र प्रदेशले गर्नेछन्।