संसदलाई छलेर भाग्दै हिंड्नेलाई नत्थी लगाएर तान्छौं : महेश बर्तौला


फागुन १२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने चेतावनी दिएको छ। शुक्रबार विपक्षी दलहरुको अवरुद्धका कारण स्थगितपछि सुचारु भएको प्रतिनिधि सभाको बैठकमा एमाले सचेतक महेश बर्तौलाले सरकार संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने ताकतरहेको चेतावनी दिए। उनले आगामी बैठकमा प्रधानमन्त्रीको उपयुक्त जवाफ ‘मैँले मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु’ भन्ने घोषणा गर्ने अपेक्षा गरे।

उनले भने, ‘सरकार प्रत्येक दिन संसदलाई छलेर भागिरहन्छ। ६ गतेदेखि भाग्दैछ। १३ गते १४ गते भाग्ला कति गतेसम्म भाग्ने सम्माननीय प्रधानमन्त्रीज्यू ? हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसदमा ल्याउने परिस्थितिमा प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरुलाई नपुर्याइयोस्। आगामी बैठकमा प्रधानमन्त्रीको उपयुक्त जवाफ मैंले मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफको अपक्षा गर्दछु।’

उनले प्रधानमन्त्रीलाई तीन दिनपछि बस्ने बैठकमा आफूहरुले उठाएको सवाल सम्बोधन गर्न माग गरे। तीन दिनको पर्याप्त समय रहेकाले आगामी बैठकमा आफूहरुले उठाएको सवाल प्रधानमन्त्रीबाट सम्बोधन हुनुपर्ने उनको माग छ।

उनले भने, हामीले ६ गतेदेखि नै केहि महत्वपूर्ण विषयमा प्रधानमन्त्रीज्युलाई प्रश्न गरिरहेका छौं। हाम्रो प्रश्न र माग सरकारसँग हो। अब बस्ने बैठकमा,संसदले बनाएको तालिका बमोजिम १३ वा १४ गते हाम्रो बैठक छ। उपयुक्त समयमा सरकरलाई समय छान्ने सुविधा प्रधानमन्त्री ज्युलाई छ। उहाँले आगामी बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गर्नुहुनेछ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?