प्रतिपक्षीसँग आक्रोशित प्रचण्ड भन्छन् : ‘बालकुमारी घटनाबारे अध्ययनमा छु’
फागुन १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन आफूले अध्ययन गरिरहेको भन्दै अध्ययन पश्चात्मात्रै दोषीलाई कारबाहीको लागि निर्णय गर्ने बताएका छन्।
शनिबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराएका हुन्।
दाहालले भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानबिन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं।’
बालकुमारी घटनामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायतका अधिकारीहरु दोषी पाइएको बताइएको छ।
गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा विवाद हुँदा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।
दुई युवाको ज्यान जानेगरी भएको घटनाको प्रधानमन्त्री दाहालले नै निष्पक्ष छानबिन गराउने प्रतिबद्धता संसदको रोस्टममा उभिएर गरेका थिए। तर, छानबिन समितिले दोषी किटान गरेरै प्रतिवेदन बुझाउँदा पनि सरकारले दोषीलाई कारबाही गरेको छैन्। प्रतिपक्षी दल लगायतले लगातार दोषीलाई कारबाहीको माग गर्दै सदन प्रधानमन्त्रीको जवाफ मागिरहेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोलेका अधिकांश सांसदहरुले बालकुमारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै सरकारको जवाफ मागे। विशेषगरी प्रतिपक्षी दल नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरुले जोड दिएरै लगातार मन्त्रीको राजिनामा मागेका छन्।
संघीय संसदमा जवाफ नदिएको सरकारले आज बालकुमारी घटनाको प्रतिवेदनबारे क्षेत्राधिकार सरकारको भएको र प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने टिप्पणी प्रधानमन्त्री दाहालले गरेका छन्। ‘यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ,’प्रधानमन्त्री दाहालले भनेका छन्।
बैठकमा दाहालले आगामी मन्त्रिपरिषद् बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ। विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस्।’