संघीय संसद बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल चलाउने तयारी


फागुन १४, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि र राष्ट्रिय दुवै सभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेर १ मिनेटमा शुरु हुनेछ।

दुवै सभाका बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको व्यहोरा सभामुख देवराज घिमिरे र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ।

यसपछि राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, बैठकमा अर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ। उक्त विधेयक अर्थमन्त्री डा। प्रकाश शरण महतले सभामा छलफलका लागि प्रस्तुत गर्नेछन्।

राष्ट्रिय सभामा आज विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका तर्फबाट सभापति द्वयले दुई वटा अध्ययन प्रतिवेदन पेश गर्दैछन्।

विधायनकी व्यवस्थापनकी सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९–८० तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व को अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूती रहेको संसद सचिवालयले जनाएको छ।

साथै आजकै बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस’ भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्नेछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?