भजन शिरोमणिलाई यसरी सम्झिन्छन् गीतकार, कसले के भने ?
फागुन १५, काठमाडौं । कलाकारितामा आबद्ध जोकोही स्रष्टा जीवनको अन्तिम क्षणसम्म पनि कलाकारितामै सक्रिय हुन चाहन्छन्। गायन होस् या अभिनय मृत्युअघिका दिनसम्म उनीहरु आफूलाई सक्रिय बनाउन चाहन्छन्। तर गायक, संगीतकार भक्तराज आचार्य यो मामलामा ‘अपवाद’ रहे।
तीसको दशकमा उदाएका भजनशिरोमणि भक्तराजको संगीतयात्रामा ४० को आधा दशकपछि एउटा घटनाले बिराम लगाइदियो। त्यसपछिका झण्डै ३५ वर्ष उनी न बोले, न गाए, न त संगीत सिर्जना नै गर्न समर्थ रहे। आफ्नो संगीतयात्रामा उनले जति सिर्जना गीतसंगीतलाई दिए, ती कालजयी बने। उनै भक्तराज सोमबार अस्ताए। उनी अस्ताए पनि उनका सिर्जना सदाबहार छन्।
नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको प्राङ्गणमा नेपाल संगीतकार संघले भक्तराजलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आयोजना गरेको कार्यक्रममा पुगेका गीतकार दिनेश अधिकारी विगततिर फर्किए। छेउमा रहेको भक्तराजको शवलाई नियाल्दै उनले भक्तराजबारे बोलिरहँदा उनको अनुहारमा शोकको भाव प्रष्ट छचल्कियो।
‘भक्तराज दाई नेपाली गीतसंगीतका लागि अत्यन्तै दुर्लभ प्रतिभा भएको व्यक्ति हुनुहुन्थ्यो। छोटो अवधिमा गीत गाए पनि उहाँले संगीतको लामो आयु लिएर आउनुभएको रहेछ। खास गरी शास्त्रीय संगीतलाई आधार बनाएर शुद्ध उच्चारणसहित शुद्ध गायन र गीत तथा संगीतको चयनमा उहाँ अब्बल हुनुहुन्थ्यो’, दिनेश भन्दै थिए, ‘यद्यपि उहाँले धेरै संगीत आफैंले गर्नुभएको छ। गीतको चयनमा पनि उहाँ निकै सचेत हुनुहुन्थ्यो। उहाँको संगीतमा त्यो बेला उपस्थिति थियो, जुनबेला नेपाली संगीतमा एकदमै राम्रा प्रतिभाहरुको भीड थियो। त्यो बेला आफ्नो अलग्गै परिचय बनाउनु लर्तरो कुरा थिएन।’
दिनेशको बुझाईमा भक्तराज अलग ट्रयाकमा अलग उचाई लिएर आए। भलै उनका योगदान नेपाली संगीतमा छोटो अवधिलाई भयो। ‘कुनै पनि स्रष्टाको आयु सिर्जनाले फूल्ने रहेछ। भक्तराज दाईले सिर्जनाको आयु पाउनुभयो। भक्तराजले गीतकार दिनेशको गीत ‘जीवन भन्नु त घात छ’ मात्र गाए। दिनेशका अनुसार भक्तराज गीत गायनमा ‘सेलेक्टिभ’ थिए। उनी जसको पनि गीत गाउँदैन थिए । ‘मेरो एउटा तर अन्तिम गीत ‘जीवन भन्नु त घात छ गाउनुभयो। यो गीत २०४२ सालमा रेकर्ड भएको थियो। म बैतडीमा थिएँ, त्यहींबाट मैले गीत पठाएको थिएँ’, उनी सम्झन्छन्, ‘हामीले धरोहर मात्र होइन, गौरवपूर्ण धरोहर नै गुमायौं। यो ठूलो क्षति हो।’
गायक तथा संगीतकार दीपक जङ्गमले भक्तराजसँग कमैमात्र सहकार्य गर्ने मौका पाए। दीपक र भक्तराजबीच संगीतकारको समानताले पनि कम सहकार्यको मौका जुरेको थियो। दीपकको भनाईमा भक्तराजले ३० देखि ४० को दशकमा नेपाली गीतसंगीतलाई दिएको सिर्जना ‘उत्कृष्ट’ थिए। ‘उहाँका अत्यन्तै महत्वपूर्ण कृतिहरु नेपाली संगीतले पाएको छ। त्यति छोटो समयमा उहाँले जति दिनुभयो, त्यो मास्टरपिस नै हो। उहाँले कालजयी गीत नै दिनुभयो’, दीपक भन्छन्।
छोटो समयावधिमा भक्तराजले नेपाली गीतसंगीतलाई दिएको सिर्जना ‘दुर्लभ’ भए पनि त्यो स्रष्टाको ‘जीवनचक्र’ मा भरपर्ने दीपकको बुझाई छ। ‘हरेक स्रष्टाको आफ्नो लाइफसाइकल हुन्छ। त्यो कहाँ गएर क्लिक हुन्छ, त्यसले निर्धारण गर्छ। कलाकार सक्रिय छ भने उसको सिर्जना निरन्तर आइरहन्छन्। तर नेपालजस्तो ठाउँमा कुनै बलियो संस्थाको ‘ब्याकिङ’ नभईकन एउटा व्यक्ति विशेषमा चल्नु निकै कठिन हुन्छ। त्यहाँ सहयोगीको ठूलो भूमिका रहन्छ’, दीपक भन्छन्, ‘भक्तराजजीको हकमा उहाँ रेडियो नेपालको कर्मचारी हुनुहुन्थ्यो। त्यही कारण उहाँलाई गीत रेकर्ड र प्रसारणमा समस्या भएन। त्यो छोटो समयमा पनि उहाँका ‘मास्टरपिसहरु’ नेपाली संगीत क्षेत्रले पायो।’
दीपकका अनुसार भक्तराजले उनको कम्पोजिसनका दुईचारवटा गीत गाएका थिए । दीपकको भनाईमा उनी रत्न रेकर्डिङ कर्पोरेसनको नेतृत्वमा रहँदा उनले भक्तराजका गीतलाई बढी प्राथमिकतामा राखेका थिए। ‘उहाँले धेरै डिस्क रेकर्ड गर्नुभयो । उहाँका राम्रा रेकर्डहरु मैले नै गराइदिएँ’, दीपक भन्छन्।
युवा गीतकार भूपेन्द्र खड्का भक्तराजले नेपाली गीतसंगीतलाई दिएका सिर्जना गीतसंगीत क्षेत्रकै लागि ‘दुर्लभ’ मान्छन्। ‘भक्तराज आचार्यले २०३० सालमा अम्बर गुरुङका शब्द र संगीतमा राष्ट्रिय गीत प्रतियोगितामा गीत गाएर प्रथम हुँदा त्यो प्रतियोगितामा अम्बर गुरुङ, नारायण गोपाल र बच्चु कैलाश निर्णायक हुनुहुन्थ्यो । त्यो समय नेपाली संगीतका ‘टाइकुन’ हरुको उदय भइरहेको थियो। एकसेएक भेट्रानहरु ‘पिक’मा पुगिरहेको समय थियो । भक्तराज आचार्यले जसको शब्द र संगीतमा गीत गाउनुभयो, त्यो अर्को वर्ष ‘च्यालेन्ज’ भयो,’भूपेन्द्र भन्छन्।
भूपेन्द्रको बुझाईमा भक्तराज २० को दशकमा खारिएर, एक दशक साधना गरेर निस्किएका मान्छे थिएनन्। ‘अम्बर गुरुङ, गोपाल योन्जन, नारायण गोपाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, दीपक खरेल, फत्तेमान राजभण्डारी, बच्चु कैलाश, माणिक रत्न, प्रेमध्वज प्रधानले राज गरिरहेको समयमा भक्तराज आचार्यको आगमन उनीहरुका लागि ‘च्यालेन्ज’ नै थियो। त्यो समयमा नयाँ गायकले गीत गाउनु, पिक लिनु, गीत हिट बनाउनु चानचुने कुरा थिएन’, उनी भन्छन्।
भुपेन्द्रका अनुसार त्यो बेलाको एक्लो सञ्चारमाध्यम रेडियो नेपालमा त्यहाँको आन्तरिक राजनीतिका बाबजुद पनि भक्तराजले गीत गाउनु ‘दुर्लभ’ नै थियो। ‘वर्षमा एउटा गीत रेकर्ड गर्नुपथ्र्यो। रेडियो नेपालभित्रको राजनीति उस्तै थियो, कसको गीत फाल्ने, कसको काट्ने हुन्थ्यो। आफ्ना फेभरकाले मात्र गीत गाउन पाउँथे। त्यस्तो बेला पनि भक्तराज आचार्यले गीत गाएर यो उचाई पाउनु दुर्लभ नै हो’, भुपेन्द्र भन्छन्।
भक्तराजलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बाल्यकालदेखि नै सुन्दै आएको स्रष्टालाई श्रद्धाञ्जली दिइरहँदा भावुक बनेको बताए। ‘बिदाई भइसकेर पनि सधैं जीवित रहने उहाँ हाम्रो स्मृतिमा हामी रहँदासम्म उहाँका शब्द, गीतका भावहरु, स्वरको क्षमता सदैव सम्झिरहने छौं। उहाँ भौतिक रुपमै भए पनि तीन दशकदेखि उहाँको आवाज बन्द थियो’, विश्वप्रकाश भन्छन्, ‘अहिले उहाँ भौतिक रुपमा गइसके पनि उहाँका सिर्जना अमर छन्। उहाँका ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपना’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’, ‘मुटु जलिरहेछ’ मेरा प्रिय गीत थिए।’
अन्तिम श्रद्धाञ्जलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा ओढाएका थिए। उनले भक्तराजको उपचार गर्दा लागेको खर्चबारे परिवारका सदस्यसँग कुरा गरेर सहयोगको बारेमा के गर्न सकिन्छ, त्यो बारे सल्लाह गर्ने बताए।
भक्तराजलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली काँग्रेसका महामन्त्री गगन थापालगायत पुगेका थिए। भक्तराजलाई नेपाली गीतसंगीत, फिल्मलगायत विभिन्न क्षेत्रका व्यक्ति तथा सर्वसाधारणले पनि श्रद्धाञ्जली दिएका थिए।
कार्यक्रममा कलाकारहरुले भक्तराजका ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’ लगायतका गीत गाएका थिए। १९९९ सालमा धनकुटामा जन्मिएका भक्तराजले आफ्नो जीवनकालमा झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन्। उनका दुई छोरा सत्यराज र स्वरुपराज पछिल्लो पुस्ताका लोकप्रिय गायक हुन्।