अन्तर्राष्ट्रिय टि ट्वान्टी शृङ्खला : नेपाल नेदरल्यान्ड्ससँग पराजित
फागुन १६, काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्र्तगत आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ। यससँगै नेपालको यो लगातार दोस्रो हार हो। हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रनमा समेटियो। नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो।
नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। खेलको तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए।
चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड आउट हुन पुगे। नेपाललाई जितका लागि ३ बलमा ४ रन चाहिएको थियो। उनी बोल्ड आउट हुन पुगे। दिपेन्द्रले ३४ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६३ रन बनाए।
त्यसपछि उनको स्थानमा आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन्। छैटौँ बलमा उनले १ रन मात्र लिए। अन्ततः नेपाल नेदरल्यान्डसँग पराजित हुन पुग्यो।
खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५० रन जोडे। आशिफ शेखले २३ बलमा चार चौका र एक छक्काको मद्धतमा ३४ रन जोडे। कुशल मल्ल र करण केसीले समान ११÷११ रन जोडे भने सन्दिप जोराले ८ रन बनाए।
बलिङतर्फ स्याब्रान्ड एंगेलब्रेक्ट र रोलेफ भान डर मर्वेले समान दुई–दुई विकेट लिए भने आर्यन दत्त, भिभियन किंग्मा र टिम भान डर गुगटेनले समान एक÷एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ३६ बल खेल्दै पाँच चौका र तीन छककाको सहयोगमा ५४ रन बनाएका हुन्। त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए। स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे। तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए।
बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक÷एक विकेट लिएका थिए। नेपालले यही फागुन १८ गते नामिबियासँग खेल्नेछ।