टुट्यो सत्ता गठबन्धन, आजै सानो आकारको मन्त्रिपरिषद्


फागुन २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेससहित दलहरूसँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउन तयार भएका छन्।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए।

सोमबार विहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टा–छुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो। नेताहरूले आजै नयाँ सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने जनाएका छन्।

एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए। ‘आजै सरकार परितर्वन र नयाँ मन्त्रिपरिषद् बन्दैछ। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ,’ उनले लेखेका छन्।

अलगअलग बैठकपछि अहिले एमाले र माओवादी केन्द्रका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?