सत्ता फेरबदललाई ‘पर्ख र हेर’ को अवस्थामा एकीकृत समाजवादी
फागुन २१, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे ‘पर्ख र हेर’ अवस्थामा रहने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो।
बैठकपछि पार्टी महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल आफ्नो पार्टीले कुनै प्रतिक्रिया नजनाउने जानकारी दिएका छन्।
प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, माओवादी, रास्वपा, जसपालगायत राजनीतिक दलहरू लिएर नयाँ सत्ता समीकरण गरेका छन्। कांग्रेससँगको सत्ता गठबन्धन रहँदा एकीकृत समाजवादी पनि सरकारका सहभागी थियो।