एमालेद्वारा कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग


फागुन २१, विराटनगर । केन्द्रीय राजनीतिमा फरक गठबन्धन निर्माण भएर सत्ता समीकरण फेरिएको असर प्रदेशमा पनि पर्न थालेको छ। केन्द्रमा संघीय सरकार र प्रदेश सरकारको नेतृत्वमा पनि आलोपालो गर्ने सहमति बनेपछि यसको असर प्रदेशसम्म आइपुगेको हो।

यसै क्रममा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेको छ। गत असोज २७ गते एमालेका ३९ सांसद र आफ्ना दलबाट विद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री बन्न सफल भएका थिए।

कार्कीलाई पछि उनकै पार्टी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएका थिए। केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा मागेको हो। एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

केन्द्रमा गठबन्धन भत्किएपछि कार्की अल्पमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भण्डारीले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?