रुखमा अड्किएका दुई प्याराग्लाइडरको उद्धार


फागुन २१, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सोमबार सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

कास्कीको पोखरा–१८ सराङकोटका २९ वर्षीय रवीन्द्र ढकाल (पाइलट) र उदयपुरको त्रियुगा–११ विशालनगरका २६ वर्षीय सिद्धान्त बस्नेत हावाको वेगले अनियन्त्रित भएर रुखमा अड्किएका थिए।

नवोदय सामुदायिक वन चप्पनको जंगलमा करिब सय फिट अग्लो रुखमा अड्किएका उनीहरुलाई सशस्त्र प्रहरीको नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट परिचालित टोलीले सकुशल उद्धार गरेको हो।

स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिमप्राप्त फौजले रोप रेस्क्यु विधि अपनाई उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?