माधव नेपाल फकाउन कोटेश्वर पुगे प्रधानमन्त्री दाहाल
फागुन २१, काठमाडौं । बिरामी भएका एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न सोमबार साँझ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वरस्थित निवासमा पुगेका छन्।
नेता नेपालको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न दाहाल कोटेश्वरस्थित निवासमा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल निवासमा दाहाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका हुन्।
यद्यपि दाहालले सत्ता साझेदारीका लागि एमालेसँग बनाएको नयाँ गठबन्धनमा नेपाललाई पनि सामेल गराउन चाहिरहेको र फकाउन त्यहाँ पुगेको बुझिएको छ।
उता तीन जना बिनाविभागीय मन्त्रीहरुको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत छन्।
एमाले माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयास समेत भनिएकाले अध्यक्ष नेपाललाई पनि सँगै लैजानुपर्ने दाहालको मत छ।