नयाँ सत्ता गठबन्धनलाई वामदेव गौतमको समर्थन
फागुन २२, काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानले नयाँ सत्ता गठबन्धनलाई समर्थन जनाएको छ। अभियानका अध्यक्ष वामदेव गौतमले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सत्ता गठबन्धनलाई समर्थन जनाएका हुन्।
गौतमले जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको पहलमा हिजो २१ फागुन २०८० का दिन नेपालको राजनीति र सत्ता सम्बन्धमा नयाँ गठबन्धन सुरु भएको छ। हाम्रो पार्टीले हिजो बिहानै यो गठबन्धनलाई समर्थन गरिसकेका छौ। हाम्रो समर्थन वा विरोधले राष्ट्रिय राजनीतिमा कुनै फरक पार्दैन। तथापि हामीले आफ्नो पङ्क्तिलाई स्पष्ट पार्न यो वक्तव्य जारी गर्नुपरेको हो।’
उनले नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्नुका ६ कारण पनि औँल्याएका छन्।
- कम्युनिष्ट र काँग्रेसले उत्पादन पद्धतिमा दुई विपरीत तत्त्वको प्रतिनिधित्व गर्दछन्। अहिलेको गठबन्धनले सही राजनीतिक दिशा पकडेको छ।
- अव नेपाली काँग्रेस पार्टी बिपी कोइरालाको राजनीतिक लाइनमा हिँड्छ होला।
- सत्ता स्वाद लिन जे पनि गर्ने राजनीतिक भाँडभैलोको अब अन्त्य हुन्छ होला।
- अव वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुनेछन्।
- २०७७ मा नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा० विभाजन गर्नु महाभूल थियो भन्ने पुष्टि भएको छ।
- हाम्रो सिधा, लप्पन-छप्पन विनाको आशा र विश्वास यही नै हो। तर हाम्रो आशा बमोजिम भएन भने पनि पश्चात्ताप गर्न पर्ने छैन।