नयाँ सत्ता गठबन्धन : थप चार दललाई गठबन्धनमा ल्याउने प्रयास


फागुन २२, काठमाडौं । चार दलीय गठबन्धन बनाएर संघीय सरकारमा अप्रत्यासित फेरबदल ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले साना दलहरूलाई पनि गठबन्धनमा सामेल गर्न संवाद थालेका छन्। संघीय सरकारका लागि चार दलको गणित सहज भएपनि प्रदेशको गणितमा निर्यायक हुने साना दलहरूलाई गठबन्धनमा सामेल गराउनैपर्ने बाध्यता प्रधानमन्त्रीमाथि आइपरेको छ।

११ महिनादेखि कांग्रेससहितको आठ दलीय गठबन्धनबाट प्रधानमन्त्री रहेका दाहालले सोमबार अप्रत्यासितरुपमा कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको साथ लिएका छन्।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा एमाले ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२ सिट गरी १४२ सिटसहित नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् हेरफेर गरेका छन्। प्रतिनिधिसभामा बहुमतका लागि प्रधानमन्त्री दाहाललाई १३८ मत आवश्यक पर्छ। जसका लागि अहिलेको चारदलीय गठबन्धन पर्याप्त छ।

तर संघीय गठबन्धन फेरिएसँगै सातै प्रदेशको गणितमा त्यसको असर पर्ने भएकाले दलहरू साना दलहरुलाई समेत साथ लिने प्रयासमा छन्। प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि संवाद थालेका छन्। गठबन्धनका अन्य नेताहरूले पनि यी दलसँग संवाद गरिरहेका छन्।

प्रधानमन्त्री दाहालले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवासमै पुगेर भेट गरेका छन्। प्रतिनिधिसभामा एकीकृत समाजवादीको १० सिट छ।

त्यस्तै, जनमतको ६, नागरिक उन्मुक्तिको ४ र लोसपाको ४ सिट छ। एमाले महासचिव शंकर पोखरेलले साना दलहरुलाई पनि साथ लिएर अघि बढ्न चाहेको बताए। ‘विचार र भावना मिल्ने दलहरुलाई एकसाथ जोडेर अघि बढ्ने हाम्रो प्रयास छ,’ उनले भने, ‘त्यसकालागि सम्बन्धित दलहरुसँग संवाद भइरहेको छ।’

नेताहरुका अनुसार मन्त्रालय बाँडफाँटमा सहमति भए एकीकृत समाजवादी सरकारमा आउने लगभग सहमति जुटिसकेको छ। ‘हाम्रो उदेश्य सरकार सञ्चालन मात्रै होइन, वामपन्थी एकतासम्मको उद्देश्य हो । हिजो नेकपा एकीकरणको प्रयास भएकै हो। तर त्यो पूणर्रुपमा सफल हुन सकेन, यसपटक हामीलाई त्यसलाई सफल बनाउन चाहान्छौँ,’ माओवादी केन्द्रका एक नेताले भने।

प्रधानमन्त्री दाहालले सोमबारमात्रै वामपन्थी एकताका लागि आफूले फेरि एकपटक प्रयास गरेको बताएका थिए। प्रदेश सरकार गठन गर्ने सन्दर्भमा सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरीको नेतृत्वको नागरिक उन्मुक्ति पार्टी निर्णयक देखिएका छन्। त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोसपासमेत प्रदेशमा निर्णयक अवस्थामा छ।

जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सकारात्मक रहेको जनाइसकेका छन्। त्यसबारे निणर्य गर्न नागरिक उन्मुक्तिले मंगलबार विहान १० बजेका लागि बैठक बोलाएको छ। तर दुवै दलले आफ्नो प्रभाव रहेका प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?