प्रचण्ड सरकारमा जाने नजाने टुंगो लगाउन नेकपा एसको सचिवालय बैठक बस्दै


फागुन २३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ बनेको सत्ता समिकरणमा सामेल हुने–नहुने विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ ।

बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो। आज बस्ने बैठकको एजेण्डामा चार दल सम्मिलित नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषय मुख्य गरी छलफल गरिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

आजको बैठकपछि नै नेकपा एस नयाँ सत्ता गठबन्धनमा जान्छ वा जाँदैन भन्ने टुंगो लाग्नेछ। यसअघिको गठबन्धनमा सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन नेकपा माओवादी केन्द्र र नेकपा एमलेको तीव्र लबिङ गरिरहेका छन्। मंगलबार दुवै पार्टीका अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर गठबन्धन र सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तिव्र असन्तुष्ट बनेका नेपालले २०७८ भदौमा एमाले फुटाएर एकीकृत समाजवादी पार्टी दर्ता गरे। तत्कालिन गठबन्धन सरकारसँग मिलेर गत चुनाव लडेका नेपाल र ओलीबीच पानी बाराबारको स्थिति थियो। ओलीले मंगलबार दिउँसो फोन गरेर गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह मात्र गरेनन् नयाँ सत्ता समिकरण बलियो बनाउन हेतु ओली विगतको तिक्तता भुलाएर मंगलबार साँझ दाहालसँग नेपाललाई फकाउन उनको निवास पुगे।

मंगलबार साँझ भएको तीन शीर्ष नेताहरुको छलफलमा नेपाल सकारात्मक देखिएको बताइएपनि नेकपा एसले सो बारे आजको बैठकमा छलफल गरेर निर्णय गर्ने भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?