वास्तविक भूमिपुत्रले सुदूरपश्चिम सरकारको नेतृत्व गर्नुपर्छ : रेशम चौधरी
फागुन २३, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताए।
नाउपाको केन्द्रीय समितिको बैठक दुई दिनदेखि बसेर सकिएको उनले बताए। नेता चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए।
‘यो सत्ता गठबन्धनको सरकारमा धेरै विचार पुर्याएर मात्रै सहभागी हुनुपर्छ। हामी सानो पार्टी। हामी पर्खिन्छौं। हामी गहिराइको मापन गर्ने बेला भएको छैन,’उनले भने।
साथै, सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर आफूहरुले बार्गेनिङ नगरेको बताए। उनले सुदूरपश्चिम प्रदेश सरकार बार्गेनिङ नभएर आफूहरुको अधिकार भएको बताए। आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि उक्त प्रदेशमा दाबी रहेको बताए। वास्तविक भूमिपुत्रले उक्त प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताए।
साथै, उनले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए। नेता चौधरीले टीकापुर विद्रोहमा थारुहरुलाई बदनाम गराइएको बताए।
‘ती परिवारलाई न्याय दिनका निमित्त विगतदेखि वर्तमानसम्म हामी प्रतिवद्ध छौं। अझ हामी भन्न चाहन्छौं टीकापुर विद्रोहमा थारुहरु बदनाम भए, थारुहरुलाई हत्याराको लोगो लगाइदियो,’उनले भने, ‘तर, थारुहरुको निवेदन राज्यले स्वीकारेन। त्यही निर्वाचन आयोगले रेशमलाल चौधरीको मनोनयन स्वीकार गर्यो। तर, प्रमाणपत्र दिएन। न्यायलयले पनि मेरो मुद्दालाई दरपीठ गरिदियो।’
टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उनको भनाइ छ । उक्त घटनामा धेरै थारुहरुको कानको जाली फुटेको, धेरै चेलीबेटी हिंसामा परेको र सयौंलाई झुठा मुद्दा लगाइएको उनको आरोप छ। ‘टीकापुर घटनाबाट पीडित सयौं बुबाआमाहरुको कानको जाली फुटेको छ। सयौं चेलीबेटीमाथि हिंसा भएको छ। सयौंमाथि झुठा मुद्दा लागेको छ। सुरक्षाकर्मीको परिवारले पनि न्याय पाउनुपर्छ। त्यसको समाधान राज्यले गर्नुपर्छ,’, उनले भने।
साथै, नाउपाले महाधिवेशनबाट चयन गरेको पदाधिकारीहरुको नामावली अध्यावधिक गर्न निर्वाचन आयोगमा पेश गरेको र उक्त कार्य प्रक्रियामा रहेको बताए।
साथै, उनले आफूलाई न्याय दिलाएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिए। ‘प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई म र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु। जसको कारण मलगायत सबै राजबन्दीलाई रिहा गरिदिनुभयो,’उनले भने।