जसपाबाट अध्यक्ष यादव र साह मन्त्री बन्दै, शपथग्रहण ११ बजे
फागुन २७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री बन्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र साहलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्दैछन्। जसपाबाटै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन्।
यादव र साहले विहान ११ बजे शितलनिवासमा मन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ। यसअघि नै सत्ता गठबन्धनको एक घटकका रुपमा रहेको जसपाले प्रधानमन्त्री दाहाललाई कांग्रेससँग गठबन्धन तोड्दा देखि नै साथ दिएको थियो। तर, मन्त्रिपरिषद् विस्तारमा भने पार्टीभित्रको विवादका कारण नाम पठाउन सकिरहेको थिएन।
आफूले चाहेको मन्त्रालय पाउने भएपछि अध्यक्ष यादव आफैँ सरकारमा सहभागी भएका छन्। यसअघि कांग्रेससँगको गठबन्धन सरकारमा पनि मन्त्री बन्न चाहेका यादव उपप्रधानमन्त्री बन्न नपाउने भएपछि सरकारमा गएका थिएनन्।