विश्वासको मत दिने विषयमा उन्मुक्तिमा श्रीमान्-श्रीमतीबीच विवाद, रेशम भन्छन्, : ‘यो घरझगडा हुँदै होइन’


फागुन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने विषयले नागरिक उन्मुक्ति पार्टीमा श्रीमान्(श्रीमतीबीचमै विवाद भएको छ। सो पार्टीकी अध्यक्ष एवम् प्रचण्ड सरकारकी पूर्वमन्त्री रञ्जिता चौधरी र पार्टीका संरक्षक रेशम चौधरीबीचको विवाद बुधबार छरपष्ट भएको हो। रेशम र रञ्जिता श्रीमान् श्रीमती हुन्।

टीकापुर घटनापछि जेलमा रहेका बेला रेशमले जेलबाटै निर्देशन गरेर श्रीमती रञ्जितालाई अध्यक्ष बनाएर पार्टी खोले, चुनाव जितेर नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा निर्णयक भूमिकामा छ भने संघमा पनि नागरिक उन्मुक्तिका चार सांसद छन्।

श्रीमती सरकारमा मन्त्री भएकै बेला सरकारबाट सजाय माफी पाएर जेलबाट छुटेका रेशम पछिल्लोपटक पार्टीको महाधिवेशन गरेर पार्टी अध्यक्ष समेत चुनिएका थिए। तर निर्वाचन आयोगले महाधिवेशनको निणर्य खारेज गरेर पूरानै कार्यसमितिलाई निरन्तरता दिएपछि अहिले रञ्जिता नै पार्टीको नेता छिन्।

रञ्जिता कांग्रेससहितको गठबन्धन सरकार हुँदा भूमि व्यवस्था तथा सहकारीमन्त्री थिइन्। अहिले फेरि गठबन्धन सरकारमा सामेल हुने वा विपक्षमा बस्ने भन्नेबारे रेशम र रञ्जिताबीचमै विवाद चर्किएको हो। रेशमले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नहुने दाबी गरेका छन् भने रञ्जिताले संघीय सांसदहरूलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन्।

उता रेशमले केन्द्रीय समितिका बहुमत सदस्यको बैठक राखेर विश्वासको मत नदिने निणर्य गराएका छन्। श्रीमान् श्रीमतीको झगडाले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।

‘फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निणर्य बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

तर, संरक्षक चौधरी पक्षका पार्टी उपाध्यक्ष दामोदर पण्डितले विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न भन्दै विज्ञप्ति निकालेका छन्। प्रदेशको हकमा भने विभिन्न दलसँग वार्ता गरी सहकार्य गर्न कार्यदल बनाइएको छ। कार्यदलका संयोजक पण्डित तोकिएका छन्।

‘केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, प्रतिपक्षमा बस्ने, सरकारलाई समर्थन नदिने र प्रदेश सकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निणर्य भएको छ,’ विज्ञप्तिमा पण्डितले भनेका छन्।

पार्टीका संरक्षक चौधरीले पार्टीमा देखिएको विवाद घर झगडा मात्रै हुँदै नभएको दाबी गरेका छन्। ‘आज जिते प्रचण्ड, ओली जित्लान्। भोलि फेरि देउवा जित्लान्। सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडि नलागौं, आफ्नो पार्टी निर्माणमा जुटौं,’ रेशमले फेसबुकमा लेखेका छन्, ‘यो विषय घर झगडा हुँदै होइन, विषय राजनीतिक हो। मैले जानेको बुझेको यही हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?