माओवादी केन्द्र र नेपाल समाजवादी महिन्द्र राय पक्षबिचमा पार्टी एकता सहमति
चैत ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ। शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबिच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ।
सहमति पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन्। डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो।
सहमतीमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय सँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र सङ्गठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ।
यी हुन् दुई पार्टीका बीचमा भएको पार्टी एकता गर्ने चार बुँदे सहमति
१– बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क।पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष क नारायणकाजी श्रेष्ठ र महासचिव क देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।
२–बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ।
३–एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।
४–पार्टी एकताका लागि वैचारिक एकरूपता र सङ्गठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ।