इजराइली बमबारीबाट गाजामा ३६ आफन्तको मृत्यु
चैत ४, एजेन्सी । इजराइली बमबारीबाट विस्थापित तबातिबी परिवार रमजानको पहिलो शुक्रबार राति सँगै खाना खान मध्य गाजामा जम्मा हुँदाको दृश्य चाँडै रक्तपातमा बदलियो।
महिलाहरूले उपवासको खाना तयार गर्दा उनीहरू बसेको भवनमा हवाई आक्रमण हुँदा परिवारका ३६ सदस्यको मृत्यु भएको आक्रमणमा बाँचेकाहरूले बताएका छन्।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको समान सङ्ख्या जानकरी गराउँदै इजराइललाई नुसेरतमा भएको आक्रमणको दोषी ठहराएको छ। इजराइली सेनाले घटनाको जाँच गरिरहेको बताएको छ।
“यिनी मेरी आमा, बुवा, काकी र मेरा भाइहरू हुन्”, हमलामा परी दोस्रो हातमा चोट लागेका १९ वर्षीय मोहम्मद अल–तबातिबीले देर अल बलाहमा रहेको अल–अक्सा शहिद अस्पतालमा आँसु बगाउँदै भने, “उनीहरूले हामीलाई घरभित्रै हमला गरे। मेरो आमा र काकी उपवासको खाना पकाउँदै हुनुहुन्थ्यो, सबैको मृत्यु भयो।”
अस्पतालको आँगनमा शवहरू थुप्रिएपछि ट्रकमा कोचेर समाधिस्थल पुर्याउनुपर्ने उनले बताए। शव व्यवस्थापन सामग्रीको अभावमा मृतकहरूलाई रगतले लतपतिएको सेतो कपडामा बेरेर राखिएको एएफपी टेलिभिजनले प्रसारण गरेको छ।
सोमबारदेखि सुरू भएको मुस्लिमहरूको पवित्र महिना रमजानको पहिलो शुक्रबार पवित्र अल–अक्सा मस्जिद क्षेत्र तनावपूर्ण भए पनि इजराइली कब्जामा रहेको पूर्वी जेरुसेलममा भने शान्तिपूर्ण रह्यो।
गाजा क्षेत्रमा भने स्थिति फरक थियो। नुसेरतमा शुक्रबार राति भएको हवाई आक्रमण उत्तर गाजा क्षेत्रदेखि दक्षिणमा रफासम्म भएको ६० घातक हवाई आक्रमणमध्ये एक भएको हमासद्वारा सञ्चालित सरकारको प्रेस कार्यालयको प्रतिवेदनले जनाएको छ।
“यो रक्तपातपूर्ण रात हो। विनाशको हदलाई हेर्नुहोस्”, हमासद्वारा सञ्चालित सरकारी मिडियाका कर्मचारी सलामा लारुफले भने।
गत अक्टोबरमा दक्षिणी इजरायलमा हमासको अभूतपूर्व आक्रमणबाट गाजामा युद्ध सुरू भएको हो। एएफपीको तथ्याङ्कअनुसार घटनामा एक हजार एक सय ६० नागरिकको ज्यान गएको थियो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हमासलाई समाप्त पार्न इजराइलको प्रतिशोधात्मक सैन्य अभियानमा कम्तीमा ३१ हजार पाँच सय ५३ व्यक्तिको ज्यान गएको छ।
गाजाका २४ लाख बासिन्दाले शरण लिएको रफामा इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार सैन्य कारबाही गर्ने योजना स्वीकृत गरेको बताएपछि थप रक्तपातको त्रास फैलिएको छ । यद्यपि कुनै योजना सञ्चालन हुनुअघि नै हवाई आक्रमण जारी छ। शनिबार बिहान हवाई आक्रमणमा परी मस्जिदका मुएजिन इस्सा दुहैर र उनका दुई छोराले ज्यान गुमाएका थिए।
मध्यगाजास्थित नुसेरतमा भएको हवाई आक्रमणमा परी ज्यान गुमाएका आफ्ना ३६ सदस्यको सङ्ख्या बढ्दो रहेको युसेफ तबातिबीले बताउनुभयो । “घटनामा परेका केहीलाई हामीले अझै उद्धार गर्न सकिरहेका छैनौँ, हामीसँग उद्धार गर्ने उपकरणको अभाव छ”, धुलो हात टकटक्याउँदै उनले भने।