प्राध्यापक विष्ट हत्याका योजनाकार १६ वर्षपछि पक्राउ


चैत ६, काठमाडौं । मीनभवन कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्याका मुख्य योजनाकारलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय धर्मराज विष्टको २०६४ असार २६ गते हत्या भएको थियो।

उनको हत्या सार्वजनिक गरिएकी सबिता थापा भनिने सोभिता थापासहित उनका सहोदर भाइ विनोद थापासहित तीन जनाको समूहले कुटपिट गरि सख्त घाइते बनाएका थिए। बेहोस भएका उनको पछि उपचारको क्रममा मृत्यु भएको थियो।

सीआइबी कार्यालयकी डिएसपी सुरक्षा केसीको नेतृत्वको टोलीले थापालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। डिएसपी केसीका अनुसार धर्मराज र सोभिताबीच सामान्य चिनजान थियो। तर धर्मराजले सोभितालाई बारम्बार जिस्काउने र तनाव दिने गरेका थिए।

उक्त कुरा सोभिताले आफ्ना भाइ बिनोदलाई बताएका थिए। दिदीको कुरा सुनेर बिनोदले आफ्ना साथीहरू रञ्जन खड्का र राजिब पाण्डेलाई बोलाएर कुटपिट गर्ने योजना बनाएको डिएसपी केसीले बताइन्।

उनका अनुसार योजना बनाएसँगै सोभिताले धर्मराजलाई फोन गरी शंखमुल पुलनिर बोलाएकी थिइन्। त्यहाँ बिनोद र उनका साथीहरू तयार अवस्थामा बसिरहेका थिए । धर्मराज आएपछि उनीमाथि रड र इँटा ढुंगाले प्रहार गरेर भागेका थिए।

बिनोद, रञ्जन र राजिब त्यही बेला पक्राउ परेका थिए। उनीहरूले सजाय काटेर छुटिसकेका छन्। थापालाई प्रहरीले अदालतमा बुझाएको कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?