‘आशा जगाउन सकिएन भने देश अप्ठेरोमा जाने खतरा’


चैत ५, काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणबाट पनि जनतामा आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा रहेको टिप्पणी गरेका छन्।

मंगलबार सत्ता साझेदार दलका ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतामा आशा र विश्वास जगाउनुको विकल्प नरहेको बताएका हुन्।

उनले भने, ‘जनतामा आशा र विश्वास जगाउनुको विकल्प अब हामीसँग छैन। यो नयाँ राजनीतिक समीकरण र यो संकल्पले पनि जनताका लागि डेलिभरी भएन, जनातामा नयाँ आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा छ।’

नयाँ सत्ता समीकरण आफ्नो प्रधानमन्त्री पदको कारणले नभइ जनताको विकास र समृद्धिको आकांक्षा र आवश्यकताको आधारमा बनेको प्रधानमन्त्री दाहालको दाबी थियो।

उनले भने, ‘यो नयाँ समीकरण प्रधानमन्त्रीका रुपमा मेरो पदको कारणले बनेको छैन। जनताको विकास र समृद्धिको आकांक्षा अझ सम्बोधन गर्ने र जनताका आवश्यकतासँग यो समीकरण सम्बन्धित छ।’

नयाँ मन्त्रिपरिषद् गठन भएलगत्तै धेरै राम्रा कामहरु भएको उल्लेख गर्दै उनले सडकमा आन्दोलन गर्ने लद्युवित्त पीडितदेखि माइतीघरमा आन्दोलन गर्ने कयौंका समस्या समाधान गर्ने प्रक्रिया सुरु भएको बताए।

उनले भने, ‘केही दिनभित्रै राम्रा कामहरु अघि बढेका छन्। सडकमा आन्दोलन गर्ने लद्युवित्त पीडित होस् या माइतीघरमा आन्दोलन गर्ने कयौंका समस्या समाधान गर्ने प्रक्रिया सुरु भएको छ। सुशासन, सामाजिक विकास र न्यायका सम्बन्धमा सरकारले गति लिएको छ। सत्ता समीकरण फेरिएपछि जनतामा केही सकारात्मक सन्देश दिन थालेको छ। फेरि एकचोटि कामद्धारा र परिणामद्धारा सुशासन र समृद्धिको यात्राद्धारा जनताको भरोसा जित्नु छ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?