संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
चैत ७, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ः१५ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभामा आज शून्य समय, विशेष समय र मन्त्रालयगत प्रश्नोत्तर रहने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, आजको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता र सरकारले प्रस्तुत गरेको विनियोजनका विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुने सम्भावित कार्यसूची छ।
त्यस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने समेत कार्यसूची रहेका छन्।
राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने र त्यसबारे उठेका प्रश्नहरूबारे अर्थमन्त्री वर्षमान पुनले सम्बोधन गर्ने समेत सम्भावित कार्यसूची छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।