१४ औं स्मृति दिवसः गिरिजा प्रसादको ढुकुर कथा
चैत ७, काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइराला घरिघरि ढुकुरको उदाहरण दिएर राजनीतिका बारेमा संक्षिप्त मन्तव्य दिनेगर्थे। ‘रुखमा ढुकुरको बथान बसेको देखेर त्यो समाउन हातमा भएको ढुकुर उडाएर त्यसको पछि लाग्नु हुँदैन, रुखको छेउमा पुगेपछि ढुकुर भुर्र उडिहाल्छ। न त्यो समाउन सकिन्छ न त हातकै ढुकुर रहन्छ’ कोइराला आफ्नो मन्तव्यमा यति उदाहरण दिन्थे र कुरा टुंग्याउँथे।
कोइरालाको यो उदाहरणलाई तात्कालिक सन्दर्भ अनुसार अर्थ लाएर विवेचना गरिन्थ्यो भने यसैलाई आ-आफ्नो सुविधा अनुसार व्याख्या गरेर राजनीतिको मसला पनि बनाउने गरिन्थ्यो। तर कोइराला स्वयंले भने यसको विस्तारमा विश्लेषण गरेनन्।
कोइरालाको निधन भएको आज १४ वर्ष पूरा भएको छ। नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन्। कोइरालाकी पुत्री सुजाताले भने आज शारीरिक रुपमा असक्त बालबच्चाहरुलाई दिवा भोजन गराएर पिताजीलाई श्रध्दाञ्जलि अर्पण गर्ने भएकी छिन्।
उनी पिताजीलाई सानु बुवा भन्छिन्। ‘आज जोरपाटीमा अशक्त बालबच्चाहरुलाई दिवा भोजन गराउने कार्यक्रम छ, अरु बेला अरु नै किसिमका सेवाका कार्यहरु त चलिरहेकै छन्’ सुजाताले नेपाल न्यूज बैंकसँग भनिन्।
स्वर्गीय कोइरालाको अगुवाईमा भएको जनआन्दोलन पछि हिंसात्मक सशस्त्र द्वन्द्व गरिरहेको माओवादी पार्टी शान्ति प्रक्रियामा आएको थियो। माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला त्यसपछि राजनीतिमा सक्रिय भूमिकामा आउन नपाई संसारबाट विदा भएका थिए।
उनको स्मृति दिवसमा नेपाली कांग्रेस केन्द्रीय समितिले भने कुनै कार्यक्रमको आयोजना गरेको छैन। देशभरका ७७वटै जिल्ला कार्यसमितिले भने कोइरालालाई सम्झने भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रले नै सबै जिल्लालाई कार्यक्रमको आयोजना गर्न निर्देशन दिएको हो।
विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो। यसपछि भएका आन्दोलनको नेतृत्व कोइरालाले नै गरेका थिए र बिगठित प्रतिनिधि सभाको पुनस्थापना नै समस्याको एकमात्र समाधान हो भनेर उनले त्यसमै अडान लिईरहे।
विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए।
पछि जनआन्दोनको दवावमा राजाले निरंकुश सत्ता छाड्दा प्रतिनिधि सभाको पुनस्थापनाको घोषणा गरेका थिए र पुनस्थापित प्रतिनिधि सभामा माओवादी समेत प्रवेश गरेको थियो। आन्दोलन सफल भएपछि कोइराला चौथोपटक प्रधानमन्त्री बनेका थिए। पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाका सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरिदिएको थियो।
कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो। उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु वीपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ। पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो।
चार पटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यबाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए। राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यबाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए।
उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको थियो। बोलेको कुरा पुर्याउने राजनेताका रुपमा स्थापित कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।
माओवादीलाई मूलधारको राजनीतिमा ल्याएकै कारण माओवादीका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डले गिरिजाबाबुलाई सम्झिरहन्छन्। तर नेपाललाई गणतन्त्रात्मक मुलुक बनाउन सफल कोइरालालाई राष्ट्रपति बन्नबाट भने तिनै प्रचण्डले रोकेका थिए। कांग्रेससँग सहकार्य गर्दा प्रचण्डले कोइरालाको नाम लिन भने बिर्सिएका छैनन्।