गृहमन्त्रीकै अघि बडुले सोधे : सहकारी ठगीमा तपाईंको नाममात्र मिलेको हो ?
चैत १४, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन्। राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडुले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताए।
बडुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गरे।
उनले भने, ‘छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुदैनथ्यो। रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ। नाममात्र मिलेको हो कि के हो ?’
बडुले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिनेबेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए। त्यस्तै, सांसद बडुले सुन तस्करी प्रकरण सम्बन्धि छानविन समितिको रिपोर्ट समेत सार्वजनिक गरिनुपर्ने बताएका छन्।