गुजरातविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी


चैत १८, काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत भारतको गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। नेपालले गुजरातलाई आठ विकेटले हराएको हो।

गुजरातको वापीमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको थियो। गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९८ रन बनायो। गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए। यस्तै हेमाङ्ग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाइले ११ तथा स्मित पटेलले १० रन बनाए।

बलिङतर्फ नेपालका गुल्सन झाले चार, करण केसीले तीन तथा सोमपाल कामीले एक विकेट लिए।

नेपालले ९९ रनको विजयी लक्ष्य १५ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्याे। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । यस्तै अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए।

बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले एक एक विकेट लिए । नेपालले दोस्रो खेल मङ्गलबार भारतको बरोडा क्रिकेट सङ्घसँग खेल्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?