उपनिर्वाचनका उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
चैत २०, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका हुन्।
बैठक दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्ने र उपनिर्वाचनका उम्मेदवार चयन गर्ने तयारी छ।
बैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। इलाम–२ मा भने सत्तारुढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारको टुंगो लगाएर प्रचारमा लागिसकेका छन्। अर्को सत्तारुढ दल माओवादी केन्द्र र कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।
बैठकअघि सभापति देउवाले दुवै निर्वाचन क्षेत्रको अवस्थाबारे ग्राउण्ड रिपोर्ट बुझेका छन्। त्यसबारे बुझ्न कोशीमा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे र कोशी सभापति उद्धव थापालाई परिचालित गरेका थिए भने बझाङमा पनि सहमहामन्त्री भीष्मराज आङ्देम्बे र सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरलाई खटाएका थिए।
सोमबार आङ्देम्बेले सभापति देउवालाई भेटेर ग्राउण्डको यथार्थ अवस्थाबारे जानकारी गराएका थिए। कांग्रेसबाट उम्मेदवार बन्न इलाम–२ बाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशीकला राई गरी सात जनाको नाम सिफारिस भइ आएको छ । सभापति खड्का यसअघिका पराजित उम्मेदवार हुन्।
त्यस्तै, बझाङ प्रदेशसभा १ मा पनि १० जनाको नाम सिफारिस भइ आएको छ। जसमा सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याँडा, ध्रुबराज उपाध्याय र नारायण हमालको नाम रहेको छ।