मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि
चैत २५, विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ। विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो।
उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ। उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे। उनीहरुले दुवै गोल अतिरिक्त समयमा गरेका हुन्। निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो।
अतिरिक्त समयमा सांग्रीलाका गोलकिपर बिशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरी टिमलाई अग्रता दिलाए। युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रीलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन्। त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरी अग्रता दिलाए।
मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुप थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो ।
प्लेयरअफ द म्याच मच्छिन्द्रका लकेन लिम्बु घोषित भए। उनले ११ हजार पाए।